मुख्य समाचार

देश असाधारण अवस्थामा छ, परम्परागत राजनीतिले सामना गर्न सक्दैन : संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै परम्परागत राजनीतिक संस्कारले मात्र वर्तमान चुनौतीको सामना गर्न नसकिने बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै दाहालले नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै अहिलेको राजनीतिक संकटको सामना गर्न सकिने धारणा राखे ।

उनले सबै राजनीतिक दलहरूले विगतमा गरेका कमजोरीको आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए । नेकपाले पनि आफ्नो तर्फबाट भएका कमजोरीको समीक्षा गरिसकेको र ती कमजोरी सच्याउँदै रूपान्तरणको मार्गमा अघि बढ्ने संकल्प लिएको दाबी गरे ।

दाहालले मुलुकले सामना गरिरहेको चुनौतीका बीच राष्ट्रिय एकता सुदृढ गर्न र राष्ट्रिय स्वाधीनतालाई मजबुत बनाउने उद्देश्यसहित पार्टी एकता प्रक्रियालाई अगाडि बढाइएको स्पष्ट पारे ।

उनका अनुसार देशमा उत्पन्न राजनीतिक तथा सामाजिक संकटको सामना गर्न राष्ट्रिय एकताको अपरिहार्यता छ र नेकपा सोही दिशामा अघि बढ्नेछ ।

“सबै राजनीतिक दलहरूले आत्मसमीक्षा गरेर विगतका कमजोरीको मूल्यांकन गर्न जरुरी छ । हामी त्यो निष्कर्षमा पुगेका छौं र हाम्रो भागमा परेको कमजोरीको समीक्षा पनि गरिसकेका छौं,” दाहालले भने, “अब ती कमी सच्याएर रूपान्तरित हुनुपर्छ भन्ने संकल्पका साथ अघि बढेका छौं । असाधारण परिस्थितिको सामना नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीबाट मात्रै सम्भव हुन्छ ।”

उनले मुलुकमा उत्पन्न संकटको सामना गर्नकै लागि २० भन्दा बढी कम्युनिस्ट घटकहरूलाई एक ठाउँमा ल्याएर पार्टी एकता प्रक्रियालाई अघि बढाइएको जिकिर गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *