देश

हिउँदयामको चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

मुस्ताङ। हिउँदयामको अत्यधिक चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय गतिविधि घट्न थालेको छ। सदरमुकाम जोमसोमका होटलहरू सुनसान भएका छन् भने राष्ट्रिय राजमार्गमा पनि पर्यटक सवार सवारीसाधनको चाप न्यून देखिएको छ।

माथिल्लो मुस्ताङमा पुसमा बिहान र बेलुकी तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुगेको छ। उत्तरी हावाहुरीको प्रभावले स्थानीय नागरिक घर बाहिर हिँडडुल गर्न कठिनाइ भोगिरहेका छन्। लोमान्थाङ लगायतका क्षेत्रका होटल र घरहरू पूर्णरूपमा बन्द भएका छन्।

हिउँदयामको कारण खोलाहरू, सिँचाइ कुलो र घरका पानीका ट्याङ्कीहरू जमेर बरफ बनेको छ, जसले दैनिक जनजीवनमा असर पुर्याएको छ। स्थानीय नागरिक जाडो छल्न तल्लो भेगतर्फ बसाइँसराइ गर्न बाध्य भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, साउनदेखि पुस २१ गतेसम्म पर्यटक आगमनमा १० प्रतिशतले कमी आएको छ। गत आवको सोही अवधिमा ३ लाख १२ हजार ४७१ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए भने चालु आवमा दुई लाख ८० हजार ९२९ मात्र पुगेका छन्। आन्तरिक पर्यटक घट्दा पनि विदेशी पर्यटकको संख्या केही वृद्धि भएको छ।

बेनी–जोमसोम सडकमार्ग हुँदै दैनिक एक–डेढ सय पर्यटक मुस्ताङ आउने गरेको प्रहरीले जनाएको छ। पर्यटक चिसो यामका कारण कम भए पनि आंशिक रूपमा आउने क्रम जारी रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *