मुख्य समाचार

राजनीतिमा परिणाम स्वीकारेर अघि बढ्नु नै उत्तम, पार्टी एकतामा जोड: कृष्ण सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकारेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताए। उनले अहिले पार्टीभित्र परस्पर प्रतिस्पर्धा गर्ने समय नभएको र सबै एकताबद्ध भई आगामी निर्वाचनमा जाने बेला आएको बताए।

सिटौलाले वर्तमान परिस्थितिलाई सकारात्मक नभएको भन्दै केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयनमा आफूहरू लागिपरेको पनि स्पष्ट पारे। उनले भने, “पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता हो। यतिबेला पार्टीमा नेता र साथीहरूको बीचमा प्रतिस्पर्धा गर्ने बेलै होइन। निर्वाचनमा पार्टी एकताबद्ध भएर जाने बेला हो। आजसम्मको परिस्थिति राम्रो मानिँदैन। तथापि हामी केन्द्रीय कार्यसमितिको निर्णयमा लागिपरेका छौँ। अब राजनीति हो, परिणाम जे आउँछ त्यसलाई लिएर अघि जानुपर्छ। विशेष महाधिवेशन आजको आवश्यकता होइन। अहिलेको आवश्यकता निर्वाचनमा पार्टीभित्र पूर्ण समझदारी देखाउनु हो। निर्वाचनको तयारीमा सबै जुट्नुपर्ने बेला हो। यस्तो बेलामा पार्टीमा खैलाबैला हुनु उचित छैन। पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य हो।”

नेता सिटौलाले सबैले पार्टीको निर्णय मान्नु नै मूल कर्तव्य भएको दोहोर्याउँदै पार्टी एकता र निर्वाचन तयारीमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *