देश

विदेश पुगेका पुरातात्त्विक सम्पदा फिर्ता ल्याउने सहमति, नेपाल–अमेरिका ऐतिहासिक सम्झौता

काठमाडौं । संयुक्त राज्य अमेरिका र नेपालले नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि महत्वपूर्ण द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । चार वर्षभन्दा बढी समयको छलफल र सहकार्यपछि सम्पन्न यस सम्झौताले सांस्कृतिक वस्तुको अवैध ओसारपसार रोक्न र गैरकानुनी रूपमा विदेश पुर्‍याइएका पुरातात्त्विक सामग्री फिर्ता ल्याउन सशक्त आधार तयार गरेको छ ।

सम्झौतामा बिहीबार नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला तथा पुरातत्व विभागका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा हस्ताक्षर समारोह सम्पन्न भएको हो ।

सम्झौताअन्तर्गत नेपालको सांस्कृतिक सम्पदाको सुरक्षा, अवैध तस्करी नियन्त्रण तथा कानुन विपरीत हटाइएका सामग्री फिर्ता ल्याउने प्रक्रिया थप प्रभावकारी बनाइने जनाइएको छ । फिर्ता ल्याइने प्रत्येक सांस्कृतिक सामग्रीले नेपालको इतिहास पुनःस्थापित गर्नुका साथै सम्बन्धित समुदायसँग सांस्कृतिक सम्बन्ध पुनःजोड्ने विश्वास लिइएको छ ।

समारोहमा राजदूत थम्पसनले नेपालको सांस्कृतिक सम्पदाप्रति अमेरिकाको गहिरो सम्मान रहेको उल्लेख गर्दै सम्झौताले अवैध तस्करी रोकथाम, कानुनी सांस्कृतिक आदान–प्रदान प्रवर्द्धन र भावी पुस्ताका लागि सम्पदा संरक्षणमा सहकार्य थप मजबुत बनाउने बताए ।

सम्झौताले अमेरिकामा अवैध रूपमा आयात हुने नेपाली सांस्कृतिक सामग्रीमा प्रतिबन्ध लगाउने र जिम्मेवार सङ्कलन अभ्यासलाई प्रोत्साहन गर्ने जनाइएको छ । यसबाट अमेरिकी सङ्ग्रहालय, विश्वविद्यालय तथा सांस्कृतिक संस्थाहरूलाई कानुनी र उत्तरदायी संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालका लागि भने यस सम्झौताले सांस्कृतिक विरासतको संरक्षण, पुनःप्राप्ति र प्रवर्द्धनमा महत्वपूर्ण उपकरणको रूपमा काम गर्ने विश्वास लिइएको छ । दुवै देशले साझा प्रतिबद्धतालाई व्यवहारमा उतार्दै सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउने र नेपालको सम्पदाले भावी पुस्तालाई निरन्तर शिक्षा तथा प्रेरणा दिने सुनिश्चित गर्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *