देश

हामीलाई सभापति बन्न हतार छैन, पार्टी ठीक ठाउँमा उभ्याउन चाहन्छौँ: महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्ने उद्देश्यले आफूहरू विशेष महाधिवेशनको मागमा नलागेको स्पष्ट पारेका छन् ।

बुधवार बुद्धिजीवीहरूसँगको छलफलका क्रममा महामन्त्री थापाले केही नेताहरूले आफू सभापति बन्नकै लागि पार्टीभित्र विरोध गरिरहेको आरोप लगाएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको बताए । आफूहरूलाई सभापति बन्ने कुनै चाहना नरहेको र सभापति बन्न चाहने जो कोही पनि नेतृत्वमा आउन सक्ने उनको भनाइ थियो ।

“सभापति बन्ने चाहना राख्ने डा. शेखर कोइराला वा अन्य कुनै नेता पनि बन्न सक्नुहुन्छ,” थापाले भने, “हामीलाई सभापति बन्ने हतार छैन । हाम्रो एक मात्र चाहना पार्टीलाई ठीक ठाउँमा उभ्याउनु हो ।”

महामन्त्री थापाले पार्टीभित्र बढ्दै गएको कारोबारी राजनीतिलाई अन्त्य गर्नु आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसलाई सिद्धान्त, उद्देश्य र मूल्यमा आधारित राजनीतितर्फ फर्काउनुपर्नेमा जोड दिए । उनले पछिल्लो राजनीतिक घटनाक्रमपछि पार्टीहरूले दुई किसिमको धारणा बनाएको भन्दै त्यसको आलोचना पनि गरे ।

“२३ र २४ गतेपछि केही पार्टीहरूले ‘हामी नै ठीक थियौँ’ भन्ने धारणा बनाए,” उनले भने, “तर हामीले स्वीकार्यौँ कि हामी उभिएको ठाउँ ठीक थिएन, गति सही थिएन । नागरिकको रिस थियो, त्यसका कारणहरू छन् । त्यसलाई बुझेर कार्यक्रम अघि बढाउनुपर्छ ।”

महामन्त्री थापाले आफूहरू संस्थालाई जोगाउँदै परिवर्तनको एजेण्डा नमार्ने गरी अघि बढ्न चाहेको स्पष्ट पार्दै नेपालको सबैभन्दा ठूलो पार्टी कांग्रेसलाई सुदृढ, जीवन्त र जनभावनाअनुकूल बनाउने नै आफ्नो मुख्य उद्देश्य रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *