काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने स्पष्ट पारेका छन् ।
शुक्रबार उनीहरूलाई भेट्न पुगेका पार्टीका २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा महामन्त्रीद्वयले पार्टी विभाजन हुने गरी विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि नबढाइने बताएका हुन् ।
महामन्त्रीद्वयलाई भेट्न आङ्गेलु शेर्पा, पुष्पा भुसाल, डा. डिला संग्रौला लगायतका केन्द्रीय सदस्यहरू पुगेका थिए । भेटमा सहभागी केन्द्रीय सदस्य डा. संग्रौलाका अनुसार महामन्त्रीहरूले पार्टी एकतामै जोड दिँदै विभाजन निम्त्याउने कुनै निर्णय नलिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त भेटमा महामन्त्रीद्वयले संस्थापन पक्षले आफूहरूसँग आवश्यक समन्वय नगरी आफ्नै गुटभित्र छलफल गरेर निर्णय लिने गरेको गुनासो समेत गरेका थिए ।
१५औँ महाधिवेशन गर्ने मंसिर १५ को कार्यतालिकाअनुसार काम अघि नबढेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन गर्ने निर्णय सार्वजनिक गरेका थिए ।
महामन्त्रीद्वयसँग भेटघाट गर्नु अघि ती केन्द्रीय सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए । भेटमा उनीहरूले पार्टी विभाजनको अवस्था आउन नदिन आग्रह गरेका थिए भने जवाफमा देउवाले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका थिए ।




