शिक्षा / स्वास्थ्य

मुगुमा भाइरल ज्वरोले ५ जनाको ज्यान लियो, २४ घण्टाभित्र विशेषज्ञ टोली पठाउन स्थानीयको आग्रह

काठमाडौं । मुगुमा फैलिएको भाइरल ज्वरोको प्रकोपले १७ दिनको अवधिमा एउटै वडाका पाँच जनाको ज्यान लिएको छ। मृतकमध्ये शिशु र साना बालबालिका रहेका छन्।

स्थानीय युवाहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा गौतमसँग तत्काल २४ घण्टाभित्र संक्रामक रोग विशेषज्ञसहितको आपतकालीन चिकित्सक टोली पठाउन माग गरेका छन्। उनीहरूले भने, “मुगु जिल्ला अस्पतालको कमजोर अवस्था र बिरामीको बढ्दो चापले स्थिति नियन्त्रणबाहिर पुगिसकेको छ।”

मुगु जिल्ला अस्पतालमा दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जा र श्वासप्रश्वास सम्बन्धी बिरामी उपचारका लागि पुगिरहेका छन्, तर अस्पतालमा जम्मा ५० शय्या मात्र उपलब्ध छन्। लामो समयदेखि एक्स(रे मेसिन बिग्रिएको, आवश्यक औषधि र मेडिकल उपकरण अभावमा रहेको, र अक्सिजन प्लान्टसमेत सञ्चालनमा नहुँदा गम्भीर बिरामीको उपचारमा चुनौती उत्पन्न भएको बताइएको छ।

स्थानीय युवाहरूले मन्त्रीलाई बुझाएको मागपत्रमा तत्कालै  माग :

संक्रामक रोग विशेषज्ञसहितको आपतकालीन चिकित्सक, नर्स र प्राविधिक टोली पठाउने।

बिग्रिएको अक्सिजन प्लान्ट र एक्स(रे मेसिन मर्मत वा प्रतिस्थापन गर्ने।

इन्फ्लुएन्जा र श्वासप्रश्वाससम्बन्धी पर्याप्त औषधि र उपकरण आपूर्ति गर्ने।

हालको ५० शय्या क्षमतालाई आपतकालीन आईसीयू सेवासहित कम्तीमा १०० शय्यामा विस्तार गर्ने।

युवाहरूले २०६६ सालको जाजरकोट झाडापखालारहैजाको महामारी सम्झँदै समयमै हस्तक्षेप नगर्दा ठूलो मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकारलाई सचेत हुन आग्रह गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *