देश

भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी महिलाको मृत्युपछि तनावको अवस्था

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी ३० वर्षीया संगीता विकको उपचारको क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव फैलिएको छ। मृतकका आफन्तले चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै नाराबाजी गरेका छन्।

पर्सा स्थायी घर भई चितवनको कालिका नगरपालिका–२ बस्ने संगीता विकलाई कात्तिक २० गते चेकजाँचका लागि अस्पतालमा भर्ना गरिएको थियो। भिडियो एक्सरेमा बच्चाको धड्कन नभएको देखिएपछि चिकित्सकको सल्लाहमा नर्मल डेलिभरीको प्रयास गरिएको थियो।

तर, २२ कात्तिकमा उनको स्वास्थ्य अवस्था झन् बिग्रँदै रात करिब ९ बजे आईसीयूमा सारिएपछि सोही राति ११स्४० बजे मृत्यु भएको थियो। मृतकका आफन्तले बच्चाको धड्कन नभएको पुष्टि भएपछि तत्कालै सिजेरियन (अप्रेशन) नगरेकोमा आपत्ति जनाउँदै दोषीको कारबाही र छानबिनको माग गरेका छन्।

अस्पतालका प्रवक्ता एवम् स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। रामप्रसाद सापकोटाले उपचारमा कुनै लापरबाही नभएको दावी गर्दै पल्मोनरी एम्बोलिजमका कारण मृत्यु भएको बताएका छन्। उनका अनुसार, “बच्चाको मृत्युपछि आमालाई शल्यक्रियाबाट अनावश्यक जोखिमबाट जोगाउन नर्मल डेलिभरीको प्रयास गरिएको हो। संगीता सुत्केरी हुन व्यथा लाग्ने औषधि पाएको केहीबेरमै कार्डियाक अरेस्ट भइ आईसीयूमा उपचार गरिएको भए पनि बचाउन सम्भव भएन।”

यस घटनापछि अस्पतालको प्रसूति वार्डमा तनाव फैलिएको छ र मृतकका आफन्तले आवश्यक छानबिन र दोषीको कारबाहीको माग जारी राखेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *