राजनीति

राष्ट्रियसभा अध्यक्ष दाहाल सक्रिय, सिंहदरबारमा दलहरूसँग परामर्श

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको गतिरोध अन्त्य गर्न र राष्ट्रिय सभाका कामहरू अगाडि बढाउन सक्रियता देखाएका छन्। उनले शुक्रबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेतासँग महत्त्वपूर्ण छलफल गरेका छन्।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासहित नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना र नेकपा एमालेबाट गोपालप्रसाद भट्टराईको उपस्थिति रहेको थियो। छलफलको मुख्य उद्देश्य संसद अधिवेशन आह्वान गर्न र राष्ट्रिय सभाका समितिहरूको बैठक निरन्तर राख्न सरकार र राजनीतिक दलसँग समन्वय गर्नु रहेको अध्यक्ष दाहालले बताए।

उनले राष्ट्रिय सभा अन्तर्गतका समितिहरूको बैठक नियमित सञ्चालन गर्ने तयारी थालेका छन्। संघीय संसद, विशेष गरी राष्ट्रिय सभामा विचाराधीन विधेयकलाई अघि बढाउन समितिहरूको बैठक नियमित हुनुपर्ने आवश्यकता औँल्याएका छन्। संविधानविद्हरूले पनि प्रतिनिधि सभाको निर्वाचनमा सरकारलाई सहयोग र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न निरन्तर छलफल र अनुगमन आवश्यक रहेको बताएका छन्।

गत भदौ २३ र २४ को जेन–जी आन्दोलनका कारण संघीय संसदको अधिवेशन रोकिएको थियो। आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवनमा आगजनी र तोडफोड हुँदा बैठकको स्थानमा समस्या देखिएको थियो। संसद सचिवालयले हाल सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको हलमा बैठक सञ्चालन गर्ने तयारी गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *