बैतडी। सुर्नया गाउँपालिका–४ स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालनमा आएको छ। गर्भवती महिलाका लागि यो सेवा निःशुल्क हुने स्वास्थ्यचौकी प्रमुख सुरेन्द्रसिंह महराले जानकारी दिए।
प्रदेश सरकारको सहयोग र सुर्नया गाउँपालिकाको समन्वयमा स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड उपकरण उपलब्ध गराइएको हो। स्वास्थ्यचौकीमा कार्यरत अनमी पुष्पा धानुक महरा सेवा प्रदान गर्दै आएकी छन्।
यसअघि शिविरमार्फत मात्रै अल्ट्रासाउण्ड सेवा उपलब्ध हुने गरेकामा अब नियमित रूपमा सेवा सञ्चालन हुने बताइएको छ। गाउँपालिकाकी उपाध्यक्ष मञ्जु महरा बोहराका अनुसार अल्ट्रासाउण्ड सेवाले गर्भवती महिलाको स्वास्थ्य स्थिति समयमै पत्ता लगाउन र जटिलता रोक्न मद्दत पुर्याउनेछ।
उपाध्यक्ष बोहराले भनिन्, “हामी गाउँपालिकामा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान सञ्चालन गरिरहेका छौँ। यो सेवा सञ्चालनले आमा र शिशु दुवैको ज्यान जोगाउन सहयोग पुग्नेछ।”




