देश

महामन्त्री थापा यस वर्ष छठमा अनुपस्थित : आयोजकसँग क्षमायाचना, अर्को वर्ष सँगै मनाउने अभिलाषा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यस वर्षको छठ पर्वका कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन नसकेको भन्दै आयोजकहरूसँग क्षमा मागेका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै दशैं, तिहार र नेपाल संवत् जस्तै छठ पर्वका अवसरमा पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने बाध्यता प्रकट गरेका हुन्।

थापाले फेसबुकमा लेखेका छन्, ‘यो वर्ष दशैं, तिहार र नेपाल सम्वत्‌ जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु।’ उनले काठमाडौं र मधेशका विभिन्न स्थानमा आयोजना भएका छठ कार्यक्रमहरूमा निम्तो पठाउने सबैप्रति आभार पनि व्यक्त गरेका छन्।

पछिल्ला महिनामा थापा सार्वजनिक र राजनीतिक कार्यक्रमहरूमा कम सक्रिय देखिँदै आएका छन्। कांग्रेसभित्रको आन्तरिक विवाद र राजनीतिक पुनःसंरचनाका बीच उनको यस्तो ‘सार्वजनिक अनुपस्थिति’लाई कतिपयले राजनीतिक दूरीका रूपमा व्याख्या गर्न थालेका छन्।

यद्यपि, उनले शुभकामना सन्देशमा आगामी वर्ष छठ पर्व सँगै मनाउने अभिलाषा व्यक्त गर्दै लेखेका छन्, ‘अर्को वर्ष सँगै छठ मनाउने अभिलाषासहित छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस्।’

थापाको यो सन्देशले व्यक्तिगत व्यस्तता मात्र हो वा राजनीतिक संकेत पनि हो भन्ने विषयमा कांग्रेसभित्र चासो बढेको देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *