देश

सरकारले सबै नेपाली सहभागी हुने निर्वाचनको वातावरण बनाउनुपर्छ : नेता डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सम्पूर्ण नेपाली जनताको सहभागिता सुनिश्चित गर्न आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले आगामी निर्वाचनलाई जनताको विश्वास पुनःस्थापना गर्ने अवसरको रूपमा लिनुपर्ने उल्लेख गरे। उनले भने, “सात दशकको प्रयत्नपछि निर्माण भएको संविधान अहिले अर्धमूर्छित अवस्थामा पुगेको छ। यस संविधानको रक्षा र स्थायित्वका लागि हामी कहाँ उभिन्छौँ भन्ने कुरा नै भावी राजनीतिक दिशानिर्देशक हुनेछ।”

डा. कोइरालाले राजनीतिक दलहरू र जेनजी पुस्तासहित सबैले सरकारलाई निर्वाचन सम्पन्न गर्नको लागि स्पष्ट म्यान्डेट दिएको बताए। उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू तत्काल सरकारको नियन्त्रणमा ल्याउनुपर्नेमा जोड दिँदै भने, “जेलबाट फरार भएका अपराधीहरूलाई सरकारले युद्धस्तरमा खोजी गरी कानुनको कठघरामा ल्याउन ढिलाइ गर्नु हुँदैन।”

उनले पार्टीभित्र संगठनात्मक ताजगी र एकताको आवश्यकता औंल्याउँदै मंसिर महिनाभित्र कांग्रेसको १५औं महाधिवेशन गर्नुपर्ने धारणा राखे। “नियमित महाधिवेशनमार्फत मात्र कांग्रेसमा नयाँ दिशा र नेतृत्वमा ताजापन सम्भव हुन्छ,” उनले जोड दिए।

एकताबद्ध, बलियो र समयसापेक्ष परिवर्तनशील कांग्रेस आजको आवश्यकता भएको उल्लेख गर्दै डा. कोइरालाले २०७९ सालको चुनावमा गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेका वा विद्रोही उम्मेदवार बनेका कार्यकर्तामाथि गरिएको कारबाही फिर्ता गर्न माग गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *