राजनीति

ऊर्जा साझेदारी सुदृढीकरणमा नेपाल–जर्मनी सहमति : मन्त्री घिसिङ र राजदूत भोल्जबीच विस्तृत छलफल

काठमाडौं । नेपाल र जर्मनीबीचको दीर्घकालीन ऊर्जा सहकार्यलाई नयाँ आयाम दिने उद्देश्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र जर्मनीका राजदूत उडो युजेन भोल्जबीच सिंहदरबारमा बुधबार महत्वपूर्ण भेटवार्ता भएको छ।

भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई बधाई दिँदै ऊर्जा रूपान्तरण, हरित प्रविधि र पूर्वाधार सुधारका क्षेत्रमा जर्मनी निरन्तर सहयोग गर्न इच्छुक रहेको जनाएका थिए। उनले घिसिङको प्राविधिक नेतृत्व र दिगो ऊर्जा नीति नेपालका लागि महत्वपूर्ण मोड बन्न सक्ने विश्वास व्यक्त गरे।

भेटमा दुबै पक्षबीच जर्मनीको सहायतामा सञ्चालित सौर्य ऊर्जा परियोजना, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन, र पोखरा–बुटवल–भरतपुर हरित त्रिकोण परियोजनाका प्रगतिबारे विस्तृत छलफल गरिएको थियो। मन्त्री घिसिङले मध्यमर्स्याङ्दी र मस्र्याङ्दी जलविद्युत् आयोजना जर्मनीको सहयोगले सम्पन्न भएका नेपालका ऊर्जा क्षेत्रमा ‘लाइफ लाइन’ परियोजना भएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि सहयोग निरन्तर रहोस् भन्ने आग्रह गरे।

मन्त्री घिसिङले पोखरा, बुटवल र भरतपुर जोड्ने हरित सहर विकास अवधारणा अन्तर्गत विद्युतीय ट्रली बस सञ्चालन, चार्जिङ स्टेशन स्थापना र प्रसारण प्रणाली विस्तारका लागि तत्काल अध्ययन र सहकार्य आवश्यक रहेको बताएका थिए। उनले भने, “नेपाल ऊर्जा आत्मनिर्भरताको दिशामा अघि बढ्दैछ। तर दिगो र प्राविधिक समर्थन बिना त्यो सम्भव छैन, त्यसका लागि जर्मनीको अनुभव र प्रविधि नेपालका लागि मार्गदर्शक हुनेछ।”

जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माणका लागि प्राविधिक परीक्षणमा अन्तर्राष्ट्रिय विज्ञको सहयोग आवश्यक रहेको भन्दै मन्त्री घिसिङले जर्मनीको प्राविधिक टिम पठाउन आग्रह गरे।

राजदूत भोल्जले नेपाल–जर्मनी साझेदारीलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सन् २०२६–२०२८ का लागि नयाँ सहायता क्षेत्रको पहिचान र पुनरावलोकन गर्न डिसेम्बरमा जर्मन परामर्शदातृ टोली नेपाल आउने जानकारी दिए।
उनले भने, “जर्मनी नेपालका ऊर्जा, वातावरण र पूर्वाधार क्षेत्रमा विश्वसनीय साझेदार रहिरहनेछ। नेपालले अघि सारेका परियोजनाहरू दिगो विकासका नमुना बन्न सक्छन्।”

भेट समापनका क्रममा दुबै पक्षले हरित ऊर्जा, पूर्वाधार विस्तार र जलस्रोतको दिगो उपयोग मार्फत नेपाल–जर्मनी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने साझा प्रतिबद्धता जनाए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *