काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कहिल्यै पूर्ण एकताको स्थिति नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको दशौं बैठकलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएका बेला सधैं ईर्ष्या, डाहा र खुट्टा तान्ने प्रवृत्ति पार्टीभित्रै रहेको बताए ।
ओलीले भने, “पार्टीमा एकमना एकताको स्थिति कहिल्यै रहेन । मेरो नेतृत्वको सरकारलाई असफल बनाउन पार्टीभित्रैबाट निरन्तर विरोध, झुठ र फरेबको वातावरण बनाइयो ।”
उनका अनुसार संविधान जारी भएपछि बनेको नेकपाको सरकारलाई पनि पार्टीभित्रकै षड्यन्त्रका कारण असफल बनाइएको हो । उनले दुईदिने जेन–जी आन्दोलनपछि आफू प्रधानमन्त्री पदबाट राजीनामा गर्न बाध्य भएको स्मरण गराउँदै, आफ्ना नेतृत्वमा बनेको सरकारले ऐतिहासिक र दूरगामी कामहरू गरेका कारण ढालिएको दाबी गरे ।
रामबाग महलस्थित भनिमण्डलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले देश हाल प्रतिक्रान्तितर्फ गएको टिप्पणी पनि गरे । उनले भने, “आज देशमा अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको छ । यदि हामीले समयमै रोकेनौं भने देश बर्बादीतर्फ धकेलिनेछ ।”
उनले वर्तमान अवस्थालाई लोकतान्त्रिक, जनपक्षीय, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकासमुखी बाटोमा फर्काउनुपर्ने आवश्यकता औंल्याए ।
ओलीले एमाले पार्टी हाल सबैभन्दा बढी प्रहारको निसानामा परेको दाबी गर्दै भने, “हामी नीतिगत रूपमा गलत भएर होइन, बरु राम्रो नीति र कामका कारण निसानामा परेका हौं । हामीले देश र जनताका पक्षमा काम गरेका छौं, त्यसैले हाम्रा विरुद्ध षड्यन्त्र भइरहेको छ ।”उनका अनुसार एमालेले आगामी दिनमा देशलाई स्थिरता, समृद्धि र राष्ट्रिय एकताको बाटोमा अघि बढाउनेछ ।
उनले जेन–जी आन्दोलनपछि सबैभन्दा बढी प्रहार नेकपा (एमाले) माथि भइरहेको बताए । राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग रहेकै कारण पार्टी नेतृत्व र पार्टीमाथि प्रतिगमनकारी शक्तिहरू लागिपरेको उनको जिकिर छ । उनले नेकपा (एमाले)लाई नेपालको कम्युनिस्ट आन्दोलनको वैचारिक तथा व्यवहारिक अगुवाइ गर्ने पार्टीको रूपमा चित्रण गरे ।
मुलुकका भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थिरता र राष्ट्रहितको काम मन नपाउने शक्तिहरू अझै पनि सक्रिय रहेको उल्लेख गर्दै उनले यसप्रति सजग रहन सबैलाई आग्रह गरे ।



