काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले यथास्थितिमा काँग्रेस जनतामा जान नसक्ने बताएका छन् ।
शनिवार पदाधिकारी र पूर्वपदाधिकारी बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेता केसीले यस्तो बताएका हुन् ।
उनले यथास्थिति, अहिलेको विधि, पद्धति र अनुहार लिएर जनताको बीचमा काँग्रेस जान नसक्ने जिकिर गरे । उनले अहिलेको विधि, पद्धतिलाई व्यापक परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ छ । युवा पिँढीको धारणालाई प्रतिनिधित्व गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
उनले भने ‘म आफैँ पनि युवाहरूले हरेक तहमा प्रतिनिधित्व गर्नुपर्छ भनेर बोलेको मान्छे हुँ । भोलि पनि केन्द्रीय समितिमा भन्छु । ऊर्जाशील समूहलाई न्यूनतम रूपमा पनि सहभागी गराउनुपर्छ । समग्र रूपमा युवा पिँढीको धारणा नै प्रतिनिधित्व गर्न सकेनौँ भने हामी वास्तवमा जनताको बीचमा स्थापित हुन सक्दैनौँ । युवाको धारणा मात्रै होइन पार्टीलाई स्वतन्त्र र सङ्गठित बनाउनुपर्छ । अहिलेकै यथास्थितिमा, अहिलेको विधि, पद्धति र अनुहार लिएर हामी जनताको बीचमा जान सक्दैनौँ । यसमा व्यापक परिवर्तन जरुरी छ ।’
उनले ऊर्जाशील समूहलाई अब पनि पार्टीका हरेक तहमा सम्मानजनक सहभागिता नगराए ठुलो मूल्य चुकाउनुपर्ने बताए ।




