देश

अध्यक्ष केपी ओलीको स्वास्थ्यमा समस्या, एमाले सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले) को आज बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएका कारण स्थगित भएको छ । अध्यक्ष ओलीलाई असहज महसुस भएपछि बैठक भोलिसम्मका लागि सारिएको हो ।

शुक्रबार सम्पन्न आठ घण्टाभन्दा लामो सचिवालय बैठकमा अध्यक्ष ओलीले सक्रिय सहभागिता जनाएका थिए । निरन्तरको छलफल र लामो समयसम्म बसेका कारण उनी थकित भएका थिए । उपमहासचिव विष्णु रिमालका अनुसार, अध्यक्ष ओलीलाई आज पूर्ण आरामको आवश्यकता महसुस गरिएकाले बैठक स्थगित गर्ने निर्णय गरिएको हो ।

पार्टीका एक सचिवले दिएको जानकारीअनुसार, सचिवालय बैठक भोलि (आइतबार) बिहान ११ बजेदेखि पुनः सुरु हुनेछ । यसअघि आजको बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक गतिविधि र आगामी रणनीतिबारे छलफल गर्ने कार्यसूची तय भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *