काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको टोलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का प्रमुख सुदन गुरूङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गरेको छ ।
अनेरास्ववियुका नेता समिक बडालका अनुसार प्रहरी प्रशासनले उजुरीबारे सरकारी वकिलको कार्यालयसँग छलफल गरेर २४ घण्टाभित्र दर्ता गर्ने–नगर्ने निर्णय गर्ने आश्वासन दिएको छ ।
अनेरास्ववियुका महासचिव दीपक धामीले राष्ट्रका सम्पत्तिलाई नष्ट गरेर राजनीति गर्न खोजिएको आरोप लगाउँदै त्यसविरुद्ध आफूहरू कडा रूपमा उत्रिने चेतावनी दिएका छन् । उनले अनधिकृत व्यक्तिहरू सिंहदरबार छिरेर ‘हुकुमी शासन’ चलाउने गतिविधि तत्काल रोक्नुपर्ने माग पनि गरे ।
भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी कार्यालय र केही नेताहरूको घरमा आगजनी भएको थियो । सो क्रममा प्रहरीको कुटपिटबाट एकजनाको मृत्यु समेत भएको थियो । अनेरास्ववियुले उक्त घटनामा मेयर बालेन र सुदन गुरूङको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको दाबी गर्दै उजुरी दर्ता गरेको जनाएको छ ।



