राजनीति

पूर्वराजा ज्ञानेन्द्रको सन्देश पहिलो पटक ‘पूर्व श्री ५’ सम्बोधन

काठमाडौँ । निर्मलनिवासले पहिलो पटक ‘पूर्व श्री ५’ सम्बोधन गरिएको लेटरप्याडमार्फत पूर्वराजा ज्ञानेन्द्र शाहको दशैं सन्देश सार्वजनिक गरेको छ।

यसअघि निर्मलनिवासबाट जारी हुने सन्देश तथा विज्ञप्तिमा उनलाई ‘श्री ५ महाराजधिराज’ भनेर उल्लेख गरिँदै आएको थियो। संविधानले नचिन्ने सम्बोधन प्रयोग भएको भन्दै गत असारमा प्रहरीले पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकलाई सोधपुछसमेत गरेको थियो। त्यसबेला अबदेखि सो सम्बोधन प्रयोग नगर्ने सर्तमा पाठकलाई छोडिएको थियो।

विजया दशमी तथा दीपावलीको अवसरमा पठाइएको शुभकामना सन्देशमा पूर्वराजाले नयाँ पुस्ताको मागलाई समर्थन जनाउँदै सरकारले त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

“नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्यव्यवस्थाले समेट्नै पर्दछ। आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्छ,” पूर्वराजाले सन्देशमार्फत उल्लेख गरेका छन्।

यसैबीच, पूर्वराजा ज्ञानेन्द्रले यस वर्षको दशैंमा सर्वसाधारणलाई सार्वजनिक रूपमा टिका नलगाइदिने घोषणा गरेका छन्। जेनजी आन्दोलनका क्रममा भएका सहिद घटनाले देश शोकमग्न भएको भन्दै संवेदनशील परिस्थितिलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको उनले स्पष्ट पारेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *