देश

पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दा सुनुवाइ सकियो

काठमाडौं । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको मुद्दामा आज विशेष अदालतमा सुनुवाइ सम्पन्न भएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासमा भएको सुनुवाइपछि अब अदालतले आदेश दिने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो माग गर्दै आरोपपत्र दायर गरेको हो। सोसँगै नेपाल सांसद पदबाट स्वतः निलम्बनमा परेका छन्।

प्रतिवादीमा तत्कालीन कानुन तथा न्याय मन्त्री प्रेमबहादुर सिंह, भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्य सचिव स्व. माधवप्रसाद घिमिरे र उनकी पत्नी कमला घिमिरे, तत्कालीन सचिव छविराज पन्त, सहसचिव जीतबहादुर थापा र लिलामणि जोशी, कलानिधि पौडेललगायत रहेका छन्।

२०७६ माघ १८ गतेको मन्त्रिपरिषद् बैठकले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालय सञ्चालनका लागि काभ्रेको ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न स्वीकृति दिएको थियो। आयोगले सो प्रक्रिया गैरकानूनी रहेको भन्दै मुद्दा दायर गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *