काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेसबुक र युट्युबजस्ता सामाजिक सञ्जाल हतारमा बन्द नगर्न सरकारलाई आग्रह गरेको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले सामाजिक सञ्जाल व्यवस्थित र नियमन गर्नुपर्नेमा सहमति जनाए पनि हतारमा बन्द गर्ने सरकारको तयारी जनहितविपरीत हुने बताए।
“सामाजिक सञ्जाल व्यवस्थित गर्नुपर्छ, दर्ता गरेर नियमनमा ल्याउनुपर्छ,” चौधरीले भने, “तर यसका लागि संवाद र रणनीति आवश्यक छ, एक हप्ता वा दुई हप्ताको धम्की शैली जनतामाथिको अन्याय हो।”
उनले नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९० प्रतिशतभन्दा बढी भइसकेको उल्लेख गर्दै लाखौंको रोजगारी र व्यवसाय सामाजिक सञ्जालसँग जोडिएको स्मरण गराए। यस्तो पृष्ठभूमिमा फेसबुक र युट्युबजस्ता प्लेटफर्महरू बन्द गर्न खोज्नु जनविरोधी कदम हुने भन्दै सरकारलाई खबरदारी गरेका हुन्।




