देश

बागमती प्रदेशसभा बैठकः लिपुलेकको सम्बन्धमा कूटनीतिक प्रयास जारी राख्न सुझाव

मकवानपुर।बागमती प्रदेशसभाको बैठकमा लिपुलेकसहितका सीमा क्षेत्रमा भएको गतिविधि र भौतिक पूर्वाधार, कृषि, स्वास्थ्यलगायतका विषयमा सदस्यहरूले ध्यानाकर्षण गराएका छन्।

बैठकको शून्य समयमा प्रदेशसभाका १० जना सदस्यले लिपुलेक सम्झौताले नेपालको सार्वभौमिकता र राष्ट्रियतामाथि असर पार्ने भन्दै प्रदेश सरकारले सङ्घीय सरकारसँग सहकार्य गरी सम्झौता खारेज गराउन कूटनीतिक प्रयास अघि बढाउन सुझाव दिए। उनीहरूले प्रदेशसभाबाट सङ्कल्प प्रस्ताव पारित गरी सङ्घीय सरकारलाई जानकारी उपलब्ध गराउन पनि माग गरे।

त्यसैगरी, हेटौँडा–भैँसे सडक खण्डको बाघझोरामा वर्षात्को बाढीपहिराले यातायात अवरुद्ध हुँदा गर्भवती तथा बिरामीलाई अस्पताल पुर्‍याउन समस्या हुने भएकाले दीर्घकालीन समाधानका लागि पक्की पुल निर्माण गर्न माग गरिएको छ।

बैठकमा कृषि उत्पादनका लागि मल आपूर्ति सहज बनाउन संघसँग समन्वय गरी हेटौँडामा मौज्दात राख्न सुझाव दिइयो। काठमाडौं उपत्यकासहित प्रभावित क्षेत्रमा सुरक्षित पिउने पानी आपूर्ति र सबै अस्पतालमा दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी सुनिश्चित गर्न पनि सदस्यहरूले जोड दिए।

त्यस्तै, सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने संघीय सरकारको निर्णयमाथि आपत्ति जनाउँदै सदस्यहरूले देवनागरी लिपिमा नम्बर प्लेट सञ्चालन गर्न माग गरे।

बैठकमा सभामुख भुवनकुमार पाठकले कार्यव्यवस्था परामर्श समिति र विषयगत समितिहरूमा नयाँ सदस्य मनोनयनको प्रस्ताव प्रस्तुत गर्नुभयो। प्रस्तावअनुसार बहादुरसिंह लामा तामाङ, सुरजचन्द्र लामिछाने, कुञ्जनराज काफ्ले र मदुकुमार श्रेष्ठलाई प्रदेश मामिला समितिमा; मीनकृष्ण महर्जन र श्यामबहादुर खड्कालाई सार्वजनिक लेखा समितिमा; हरिप्रभा खड्गी श्रेष्ठलाई शिक्षा स्वास्थ्य समितिमा र विमल ठकुरीलाई उद्योग, पर्यटन तथा वातावरण समितिमा मनोनित गरिएको छ।

प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *