काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा आफ्ना मागहरू समावेश गर्न माग गर्दै नेपाल शिक्षक महासंघले चौथो दिन पनि नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ।
महासंघको नेतृत्वमा रहेको टोलीले आइतबार सो पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिँदै विधेयकमा आफ्ना माग समावेश गरिनुपर्ने अडान दोहोर्याएको हो।
यसअघि महासंघले नेपाली कांग्रेस, नेकपा (एमाले), र नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा पनि धर्ना दिइसकेको छ। आफ्ना माग सम्बोधन नभएको भन्दै महासंघले भदौ २१ गतेदेखि कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले राजनीतिक दलहरूले शिक्षकहरूको मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै दोस्रो चरणको आन्दोलनका लागि तयारीमा रहन शिक्षक तथा कर्मचारीहरूलाई आह्वान गरेका छन्।
उनले भने, “देशभरिका शिक्षक–कर्मचारी साथीहरू, हामी दोस्रो चरणको आन्दोलनको तयारीमा छौं। यदि हाम्रा मागहरू र मुद्दाहरूको सुनुवाइ भएन भने २०८१/८२ सालको भन्दा पनि कडा आन्दोलन गर्न बाध्य हुनेछौं। त्यसका लागि तम्तयार रहन सबैलाई हार्दिक आग्रह गर्दछु।”
विद्यालय शिक्षा विधेयकमा मुख्य मागहरू समेटिएको छैन भन्ने गुनासोसहित महासंघले विभिन्न राजनीतिक दलका मुख्यालयहरूमा धर्ना दिँदै आएको छ। उनीहरूले माग सम्बोधन नभए आगामी दिनमा आन्दोलन झन् चर्काउने चेतावनी पनि दिएका छन्।




