काठमाडौं । विद्यालय शिक्षा विधेयकमा उठाएका माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनको पहिलो चरणअन्तर्गत नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ।
महासंघका अनुसार आज बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म दुई घण्टा धर्ना बसेर ध्यानाकर्षण पत्र समेत बुझाइएको छ। राजनीतिक दलका कार्यालयहरूमा धर्ना दिने कार्यक्रमअनुसार आज कांग्रेस कार्यालयमा धर्ना गरिएको हो।
यसैक्रममा, आगामी भदौ १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा र भदौ १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना कार्यक्रम गर्ने महासंघले जनाएको छ।
प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा आफुले प्रस्तुत गरेका मागहरू समेटिएको छैन भन्दै महासंघले आन्दोलनको कार्यक्रम अघि सारेको हो। माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन जारी रहने चेतावनी समेत महासंघले दिएको छ।




