काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। उखु उत्पादक महासंघ नेपालको अगुवाइमा काठमाडौंको माइतीघरमा भइरहेको उखु किसानको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै उनले यस्तो माग गरेका हुन्।
उनले कृषिमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीलाई किसानलाई धर्नामा बस्नुपर्ने स्थितिको अन्त्य गर्न आग्रह गरे। ‘छिटो भन्दा छिटो यथावत् पहिला जत्तिकै ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने घोषणा गरेर त्यसलाई तुरुन्तै भुक्तानीको व्यवस्था मिलाउन म जोडदार माग गर्न चाहन्छु,’ उनले भने, ‘र साथसाथै उखुको न्यूनतम मूल्य पनि वृद्धि गर्नुपर्ने आवश्यकता छ, त्यसतिर पनि सरकारको विशेष ध्यान जाओस्।’
उनले किसानले कहिले उचित मूल्य र भुक्तानीको लागि कारखाना मालिकहरूसँग त कहिले अनुदानका लागि सरकारसँग संघर्ष गर्नुपर्ने स्थिति सिर्जना हुनु पीडादायी भएको बताए। उखु किसानको आन्दोलनमा आफ्नो पार्टी सधैँ किसानको पक्षमा रहेको पनि उनले स्पष्ट पारे।
हाल मधेस प्रदेशसहित देशभरका उखु किसानले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कायम गर्न तथा आर्थिक वर्ष २०८१/८२ को बक्यौता रकम भुक्तानीको माग गर्दै आन्दोलन गर्दै आएका छन्।




