राजनीति

दलाल र बिचौलियालाई माओवादी केन्द्रबाट हटाउने प्रचण्डको प्रतिवद्धता, कार्यान्वयन होला त प्रतिवद्धता ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलाल र बिचौलिया प्रवृत्तिलाई पार्टीबाट हटाइने स्पष्ट सन्देश दिएका छन् । पार्टीलाई कमजोर बनाउँदै लगेको दलाल संस्कृतिप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले अब त्यस्ता प्रवृत्तिको अन्त्य हुने चेतावनी दिएका हुन् ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले भने,
“समाजवादको यात्रामा अघि बढ्न उत्पादन र श्रममुखी अभियान नै आधार हो । तर, हाम्रो पार्टीभित्र कतिपय नेताहरू विचौलिया र दलाल शैलीमा ढल्किँदै गएका छन्, जसले माओवादीलाई कमजोर बनाइरहेको छ । अब यस्तो प्रवृत्ति पार्टीभित्र रहने छैन, आवश्यक परे ‘आउट’ गरिन्छ ।”

उनले माओवादीलाई परम्परागत दलभन्दा अलग राख्न नोकरशाही मानसिकता र दलाल प्रवृत्तिबाट मुक्त हुनुपर्ने आवश्यकता औंल्याए ।
“माओवादी रुपान्तरणकारी समाजवादको वाहक हो । तर, दलालसँग सम्बन्ध गाँस्नेहरूको लागि पार्टीमा भविष्य छैन,” प्रचण्डले थपे ।

त्यस्तै, उनले कृषि, उद्योग, जडीबुटी, पर्यटन जस्ता स्थानीय स्रोत साधन र सम्भावनाको उपयोग गरेर आत्मनिर्भर बन्नुपर्नेमा पनि जोड दिए ।

बैठकमा विभागीय प्रमुख तथा पार्टी उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ ले आगामी कार्ययोजनाबारे संक्षिप्त धारणा राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *