राजनीति

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता, संयोजन समितिदेखि आचारसंहितासम्म सहमति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच ‘एकता उन्मुख कार्यगत एकता’ घोषणा गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले औपचारिक हस्ताक्षरसहित एकताको घोषणा गरे।

अशोक राई यसअघि उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका थिए भने राजेन्द्र महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट छुट्टिएका नेता हुन्।

घोषणापत्रमा संगठनात्मक संरचना, सञ्चालन विधि, उद्देश्य, प्रतिबद्धता र आचारसंहिता जस्ता विषय समेटिएका छन्। सहमतिअनुसार, केन्द्रीय तहमा संयोजन समिति रहनेछ जसमा दुवै पार्टीबाट अध्यक्षसहित ७–७ जना सदस्य रहने व्यवस्था छ। ती सदस्यमध्ये कम्तीमा २ जना महिला अनिवार्य हुनेछन्।

यस्तै, प्रदेश तहमा ५–५ सदस्यीय र स्थानीय तहमा ३–३ सदस्यीय संयोजन समिति गठन गरिने उल्लेख छ। बैठकको अध्यक्षता दुवै दलका प्रतिनिधिले पालैपालो गर्ने व्यवस्था पनि घोषणापत्रमा समावेश गरिएको छ। दुवै दलले यो कार्यगत एकतालाई आगामी दिनमा पूर्ण एकतामा परिणत गर्ने प्रतिबद्धता जनाएको छन्।

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *