राजनीति

राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिदको दौडमा नरहेको महामन्त्री शर्माको स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बन्ने होडमा नरहेको स्पष्ट पारेका छन्। उनले समितिको नेतृत्व समितिमै रहेका सदस्यबाट चाँडै टुंग्याइने बताएका छन्।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै शर्माले पार्टी सरकारमा रहँदा पनि कमजोरीबारे प्रहार गर्ने र राम्रो कामको समर्थन गर्ने परम्परा निरन्तर रहने उल्लेख गरे।

‘हामी सरकारमा हुँदा पनि गलतको विरोध गर्छौं, राम्रो काममा समर्थन गर्छौं,’ शर्माले भने, ‘सामाजिक सञ्जाल विधेयकलाई जसको तस पारित गर्ने कुरामा हाम्रो स्पष्ट असहमति छ।’

उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कदमलाई कांग्रेसले स्वीकार नगर्ने भन्दै, फोन ट्यापिङसम्बन्धी विधेयकमा दुरुपयोग रोक्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए।

शर्माले सदनमा ३८ मिनेट बोलेर २५ मुद्दा उठाए पनि आफूलाई केवल रास्वपामाथि केन्द्रित भएको जस्तो प्रचार हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। साथै, रामहरि खतिवडाले पद छाड्दा राम्रो सन्देश गएको भन्दै सभापति चयन प्रक्रियामा पार्टी छिट्टै निर्णयमा पुग्ने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *