राजनीति

सांसद मोदीले भने – हुलाकी सडक निर्माणमा ढिलाइ, ‘रुलिङ नआए सभामुखकै अगाडि अनशन बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडक निर्माणमा ढिलाइप्रति कडा असन्तोष व्यक्त गर्दै सभामुख देवराज घिमिरेलाई तत्काल सरकारलाई रुलिङ गर्न आग्रह गरेका छन्। उनले रुलिङ नआए प्रत्यक्ष सभामुखकै अगाडि अनशन बस्ने चेतावनी दिएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद मोदीले मोरङको कटहरी खण्डको सडक निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि काम पूरा नभएको उल्लेख गरे। “सडक निर्माण नहुँदा अहिले त्यहाँको जनताले सडकमै धान रोपिरहेका छन्,” उनले भने।

मोदीले हुलाकी सडकको समस्या समाधानका लागि सभामुखको हस्तक्षेप अपरिहार्य रहेको बताए। “होइन भने, सभामुख महोदय, म तपाईंको अगाडि अनशन बस्छु। जबसम्म मेरो मागको सुनुवाइ हुँदैन, तबसम्म अनशन जारी राख्छु,” उनले स्पष्ट चेतावनी दिए।

हुलाकी सडक अन्तर्गतको कटहरी खण्ड लामो समयदेखि अलपत्र पर्दै आएको छ, जसका कारण स्थानीय बासिन्दा बर्खामा सवारीसाधन होइन, खेतजस्तो सडकमा धान रोप्न बाध्य भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *