काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई थुनामै राख्नुपर्ने मागसहित सरकारले उच्च अदालत पाटनमा गरेको पुनरावेदनमाथिको बहस सकिएको छ। न्यायाधीशहरूले आजै फैसला सुनाउने तयारी गरेका छन्।
गत चैत १५ गतेको राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा मिश्र र राणालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। जिल्ला अदालत काठमाडौँले उनीहरूलाई जनही ३–३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। सो आदेशविरुद्ध सरकारले पुनरावेदन दायर गर्दै थुनामै राख्नुपर्ने माग गरेको थियो।
चार दिनसम्म चलेको बहस आज न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्ली रत्न श्रेष्ठको इजलासमा सम्पन्न भएको हो।
मिश्र र राणाका तर्फबाट डा. भीमार्जुन आचार्य, गोविन्द बन्दी, सतिशकृष्ण खरेललगायतका कानुन व्यवसायीहरूले उनीहरूलाई थुनामा राख्ने कुनै कानुनी आधार नभएको दाबी गर्दै धरौटी आदेश नै यथावत् राखिनुपर्ने तर्क गरेका थिए।
सरकारी वकिलहरूले भने जिल्ला अदालतको आदेश उल्ट्याई गम्भीर आपराधिक आरोपमा मुछिएकाले थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
दुर्गा प्रसाईं समूहको पुनरावेदनमाथि पनि सुनुवाइ सम्पन्न
सोही मुद्दासँग सम्बन्धित दुर्गा प्रसाईंसहित तीनकुने घटनामा मुछिएकाहरूको पुनरावेदनमाथि पनि आजै सुनुवाइ भएको छ। उनीहरूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन दायर गरिएको थियो।
एकै घटनासँग सम्बन्धित भएकाले मिश्र–राणा र प्रसाईं समूहको पुनरावेदनलाई एकैसाथ सुनुवाइ गरिएको हो।




