काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम नदिए आफू पार्टीमा लामो समयसम्म बस्न नसक्ने बताएका छन्।
बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसमा बोल्दै गौतमले आफूलाई पदभन्दा काम चाहिएको स्पष्ट पारे। “पद होइन, मलाई काम दिनुस्। कामबिनाको पद कुनै हालतमा चाहिँदैन,” उनले भने, “यदि काम दिन सक्नुहुन्न भने म धेरै लामो समय पार्टीमा बस्न सक्दिन।”
गौतमले आफूलाई जिम्मेवारीसहितको कार्यक्षेत्र दिन आग्रह गर्दै जनवर्गीय संगठन, सामाजिक संगठन र विभागीय संरचनाभित्र काम गर्न चाहेको बताए। उनले जिल्लादेखि पालिका तहसम्मको कुनै पनि कार्यक्षेत्र दिएर जिम्मेवारी दिन सकिने प्रस्ताव पनि राखे।
उनले संविधानमा उल्लेख भएको समाजवादलाई कार्यान्वयन गरेर नेपाललाई संसारकै समृद्ध समाजको रूपमा उभ्याउनुपर्ने धारणा व्यक्त गरे।




