काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपी कोइरालालाई नबुझेका कारण नेपालको राजसंस्था अहिले इतिहास बनेको टिप्पणी गरेका छन्।
४३ औं विपी स्मृति दिवसको अवसरमा मंगलवार बसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधारः विपी विचार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विपी कोइरालाको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको बताए।
“राजा र मेरो गर्दन जोडिएको छ भन्ने विचारलाई राजसंस्थाले अपव्याख्या गर्यो, त्यसको परिणामस्वरूप राजसंस्थाको पनि अन्त भयो,” शर्माले भने।
उनले विपीलाई बुझ्ने सवालमा नेपाली कांग्रेस, कम्युनिस्ट आन्दोलन र राजसंस्थासमेतबाट कमजोरी भएको उल्लेख गरे।
“विपी कोइरालालाई सही तरिकाले जति चाँडो बुझ्न सकिन्छ, त्यति नै चाँडो देशको उन्नति सहज बन्छ,” उनले भने, “विपीलाई आत्मसात् गर्ने सवालमा सबै पक्षबाट कमजोरी भएको छ।”




