सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला दलबीचको सहकार्यबाट तीनै तहका सरकारहरू स्थिर भए पनि जनगुनासो भने कायम रहेको बताएका छन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कार्यकर्तालाई सम्बोधन गर्दै उपसभापति खड्काले राजनीतिक स्थायित्व भए पनि सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको जनगुनासो रहेको उल्लेख गरे। “नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा संघदेखि स्थानीय तहसम्मका सरकार स्थिर भएका छन्,” उनले भने, “तर चिया–चौतारीमा बसेर असन्तुष्टि बाँड्ने अवस्था अझै रहेको छ।”
उनले केही नेताहरू आफैं सत्तामा बसेर असन्तुष्टि व्यक्त गरिरहेकोप्रति पनि टिप्पणी गरे।
खड्काका अनुसार, केन्द्रमा सात दिनसम्म चलेको बैठकले सर्वसम्मत रूपमा ऐतिहासिक निर्णयहरू गरेको छ। सो बैठकमा तीनै तहका सरकारहरूले गरिरहेका कामहरूको समीक्षा गरिएको पनि उनले बताए।
उपसभापति खड्काले पार्टी विधान अनुसार केन्द्रीय अनुशासन समितिको निर्णयप्रति असहमति जनाउने सदस्यहरूले केन्द्रीय सभापतिमार्फत कार्यसमितिमा पुनरावेदन गर्न पाउने अधिकार रहेको स्पष्ट गरे।
संगठन सुदृढीकरणतर्फ निर्देश गर्दै उनले क्रियाशील सदस्यता वितरण र नवीकरणलाई अभियानकै रूपमा अघि बढाउन निर्देशन दिए। “पार्टी सदस्यता वितरण र नवीकरण हाम्रो संगठनको पहिलो कर्तव्य हो,” उनले भने, “यसलाई तुरुन्त सुरु गर्न जरुरी छ।”




