देश

मन्त्री गुप्ताको घुस प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै माओवादी सांसदको प्रश्न

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग जोडिएको अडियो प्रकरण संसदमा प्रवेश गरेको छ। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सार्वजनिक रूपमा जवाफ दिन आग्रह गरेका छन्।

सांसद पौडेलले प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भने, “मन्त्रीहरूको विषयमा सार्वजनिक भएका गम्भीर विषयमा जनताले थाहा पाउने गरी प्रधानमन्त्रीले जवाफ दिनुपर्छ।” माओवादी केन्द्रका सचिवसमेत रहेका पौडेलले भ्रष्टाचारविरुद्ध सरकारको कथित “शून्य सहनशीलता” नारा खोक्रो बन्दै गएको टिप्पणी गरे। “नैतिक मूल्य मान्यता, सुशासन र जवाफदेहिता केबल भाषणमै सीमित भएको देखिन्छ,” उनले प्रश्न गरे।

अहिले सार्वजनिक अडियो अनुसार, मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ मागेको आरोप छ। उक्त अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तालाई पदमुक्त गर्न माग तीव्र बनेको छ भने प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको मौनतालाई गम्भीर रूपमा लिएका छन्। संसदमा अझै बहस चर्किन सक्ने संकेत देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *