राजनीति

तरुण दलको जिल्ला अधिवेशन असार १५ पछि मात्र गर्न निर्देशन

काठमाडौं ।नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले जिल्ला अधिवेशन असार १५ गतेपछि मात्रै गर्न निर्देशन दिएको छ। अध्यक्ष विद्धान गुरुङले एक परिपत्र जारी गर्दै सबै जिल्ला कार्यसमितिहरूलाई सदस्यता वितरण सम्पन्न गरेपछि मात्र अधिवेशन गर्न आग्रह गरेका हुन्।

तरुण दलका अनुसार, असार १५ गतेसम्म वडादेखि प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रसम्मका छुट भएका तरुण सदस्यलाई समेटेर सदस्यता वितरणको प्रक्रिया सम्पन्न गर्नुपर्नेछ।

दुई बुँदे परिपत्रमा भनिएको छ, “दलका जिल्ला कार्यसमितिहरूले अधिवेशन हुन बाँकी आ–आफ्ना जिल्लाका विभिन्न तहहरूमा सदस्यता लिन छुट भएकालाई ध्यानमा राखी असार १५ सम्म सदस्यता वितरण गरी त्यसपछि मात्र अधिवेशन गर्न निर्देशन गरिन्छ।”

त्यसैगरी, अध्यक्ष गुरुङले पाँचौँ महाधिवेशनको तयारीस्वरूप अधिवेशनका कार्यहरूलाई निरन्तरता दिन र आवश्यक सदस्यता फारमहरू केन्द्रीय कार्यालयबाट लैजानसमेत आग्रह गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *