देश

बजार चलायमान बनाउन नीति स्थायित्व र समन्वयको माग

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले नीतिगत स्थायित्व कायम राख्दै सरोकारवालासँग छलफलका आधारमा मौद्रिक तथा केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को प्रतिनिधिमण्डलसँगको भेटमा गभर्नर पौडेलले बैंकका निर्णयहरू पूर्वानुमानयोग्य हुने बताएका हुन्। “आकस्मिक निर्णयहरूभन्दा सरोकारवालासँग छलफल गरेर अघि बढ्दा नीतिगत स्थायित्व कायम रहन्छ,” गभर्नर पौडेलले भने। उनले राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन सशक्त भूमिका खेल्ने प्रतिवद्धता जनाए।

भेटका अवसरमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले गभर्नरलाई शुभकामना दिँदै लगानीमैत्री नीति र निजी क्षेत्रको मनोबल बढाउने कार्यक्रम ल्याउन आग्रह गरे। “चालु आर्थिक वर्षमा कर्जाको व्याजदर घटे पनि कर्जा विस्तार नभएको अवस्था छ। यस्तोमा मौद्रिक र गैर-मौद्रिक उपाय आवश्यक छन्,” उनले भने।

ढकालले नीतिगत अस्थिरता लगानीको मुख्य बाधक भएकाले आगामी दशकलाई ‘लगानी दशक’ घोषणा गरी कम्तीमा १० वर्षका लागि स्थिर नीति सुनिश्चित गर्न माग गरे। उनले ग्रामिण अर्थतन्त्र सक्रिय बनाइ समग्र अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिए।

बजार सुस्त हुनुमा ‘चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन’ पनि एक कारण भएको उल्लेख गर्दै ढकालले यसलाई क्षेत्रअनुसार लचिलो बनाउनुपर्ने सुझाव दिए।

महासंघको प्रतिनिधिमण्डलले उत्पादनमूलक उद्योगलाई कम व्याजदरमा कर्जा दिने सरकारी नीति कार्यान्वयनका लागि कार्यविधि चाँडै ल्याउन, साना तथा मझौला उद्यमलाई पुनर्कर्जा उपलब्ध गराउन, र परियोजनाको सम्भाव्यता हेरेर कर्जा प्रवाह गर्नुपर्ने माग पनि गभर्नर समक्ष राखेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *