बैतडी। बैतडीको शिवनाथ गाउँपालिकाले ‘घरमा हुने सुत्केरी शून्य’ अभियान सञ्चालन गरी मातृ र शिशु मृत्युलाई शून्यमा झार्न सफल भएको छ। यसका लागि गाउँपालिकाले १७ सुरक्षित प्रसूति सेवा केन्द्र मार्फत सेवा प्रदान गरिराखेको छ।
शिवनाथ-३ लाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिसकिएको छ भने अन्य वडालाई घोषणाको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदका अनुसार घरमा हुने सुत्केरी शून्य बनाउनका लागि स्वास्थ्य संस्थाभन्दा टाढा रहेका बस्तीलाई लक्षित गरेर प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका हुन्। गाउँपालिकाका ६ वडामा १७ प्रसूति सेवा केन्द्र सञ्चालनमा रहेका छन्। उनले भने, “गाउँपालिकामा जनप्रतिनिधि आएपछि हरेक वडामा आवश्यकता अनुसार सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका छन्। २०७४ सालदेखि गाउँपालिकाका हरेक वडामा सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका हुन्।”
सेवा केन्द्रको विस्तार र बजेट
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताका अनुसार पालिकामा रहेका स्वास्थ्य संस्था र स्वास्थ्य संस्था बाहिर पनि प्रसूति सेवा केन्द्र सञ्चालनमा छन्। शिवनाथको वडा नम्बर १ मा ३, वडा नम्बर २ मा ३, वडा नम्बर ३ मा २, वडा नम्बर ४ मा ३, वडा नम्बर ५ मा ३ र वडा नम्बर ६ मा ३ वटा प्रसूति सेवा केन्द्र रहेका छन्।
स्वास्थ्य संस्थाभन्दा टाढा रहेका बस्तीलाई लक्षित गरेर प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका छन् भने स्वास्थ्य संस्थामा पनि चौबीसै घण्टा सुरक्षित प्रसूति सेवा सञ्चालनमा रहेका छन्।
प्रत्येक बस्ती र वडामा सुरक्षित प्रसूति सेवा प्राप्त भएपछि शिवनाथ गाउँपालिकालाई नै घरमा हुने सुत्केरी शून्य घोषणाको तयारी भएको छ। हरेक वर्ष स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउँदै अध्यक्ष साउँदले आगामी बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे।
गाउँपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा झन्डै २ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। वडा र बस्तीमा सुरक्षित प्रसूति सेवा केन्द्रमार्फत सेवा विस्तार भएपछि मातृ मृत्यु र शिशु मृत्यु पनि शून्यमा झरेको प्रमुख प्रशासकीय अधिकृत महताले बताए। गाउँपालिकाभित्र रहेका सुरक्षित प्रसूति सेवा केन्द्र र स्वास्थ्य संस्थाबाट एक वर्षको अवधिमा ४०० महिलाले सेवा लिएका छन्।




