देश

राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलद्वारा पदभार ग्रहण: सुपरीवेक्षण र कर्जाको गुणस्तरमा जोड

काठमाडौँ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज बालुवाटारस्थित बैंकको कार्यालयमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै उनले बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताए।

गभर्नर पौडेलले भने, “हामीले केवल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ। त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ।”

उनले सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि बताए। साथै, राष्ट्र बैंकका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उनले उल्लेख गरे।

गर्भनर पौडेलले नोट छपाइका लागि नोटको डिजाइन सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेर आफ्नो कार्यभार सुरु गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५०० र १००० का नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरेका छन् ।

पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए । ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं’ गभर्नर पौडेलले भने ।

राष्ट्र बैंकको स्वायत्तता कायम गर्नका लागि राष्ट्र बैंक ऐनअनुसार काम गर्ने पनि गभर्नर डा. पौडेलको भनाइ छ। डा. पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग गभर्नर पदको शपथ तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। त्यसलगत्तै उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *