देश

कांग्रेस नेता तिर्थराज ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा शोक व्यक्त

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति तथा जिल्ला विकास समिति दाङका पूर्वसभापति तिर्थराज ज्ञवाली ‘चैतु’ को निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सभापति देउवाले आज शोक विज्ञप्ति जारी गर्दै ज्ञवालीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

नेता ज्ञवालीको आज निधन भएको हो। नेपाली कांग्रेसले उहाँले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको महत्वपूर्ण भूमिका सदा स्मरणीय रहने उल्लेख गरेको छ। लामो समयसम्म कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर ज्ञवालीले सक्रियतापूर्वक कार्य गरेका थिए। उहाँको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्व गुमाएको कांग्रेसले जनाएको छ।

विसं २०२३ देखि राजनीतिमा प्रवेश गरेका स्व. ज्ञवालीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। विसं २००८ जेठमा जन्मनुभएका ज्ञवालीले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाको सङ्घर्ष र आन्दोलनका क्रममा करिब साढे चार वर्ष जेल जीवन बिताएका थिए। तत्कालीन पञ्चायती व्यवस्थाले उहाँको सर्वस्वहरण गर्नुका साथै आजिवन कारावासको सजायसमेत गरेको थियो।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *