काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्ने बताएका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा आयोजित नेपाल–चीन आर्थिक तथा व्यापार सम्मेलनमा उनले चीनले आर्थिक, सामाजिक र प्राविधिक क्षेत्रमा अभूतपूर्व प्रगति हासिल गरेको र नेपालले त्यसबाट फाइदा लिन चाहेको बताए।
अध्यक्ष दाहालले नेपालमा संविधानसभाबाट निर्वाचित प्रतिनिधिहरूले समानुपातिक, समावेशी, धर्मनिरपेक्षतासहितको समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न सफल भएको उल्लेख गर्दै अब विकासमा फड्को मार्न सोहीअनुसारको सहयोगको अपेक्षा रहेको बताए।
केही समयअघि संघीय संसदका दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी कानुन सर्वसम्मत रूपमा पारित गरेको उनले जानकारी दिए। “विश्वभरिबाटै नेपालको शान्ति प्रक्रिया मौलिक ढंगबाट टुंग्याउन सफल भएकामा प्रशंसा भइरहेको छ, अब समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रूपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्नेबाहेक अरू विकल्प छैन। यसमा चीन सरकारबाट विगतमा झैं अझै सहयोग र समर्थन हुनेछ भन्ने मैले विश्वास लिएको छु”, अध्यक्ष दाहालले भने।
राजनीतिक र औपचारिक रूपमा दुई देशबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपालले एक चीनप्रतिको प्रतिबद्धतालाई व्यवहारतः लागू गर्दै आएको र अहिले पनि नेपाल एक चीन नीतिप्रति दृढ रहेको उनले बताए। दुई देशले पारस्परिक हित, सहकार्य र समृद्धिको मार्गमा अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको भन्दै अध्यक्ष दाहालले व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र जनस्तरको सम्बन्धलगायत सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे।




