जलश्रोत/उर्जा

भूमिगत विद्युत्गृह सञ्चालनको तयारीमा, रोटर जडान सफल

दमौली (तनहुँ) । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्र विद्युतीय मोटर (रोटर) जडान कार्य सम्पन्न भएको छ। आयोजनाको दोस्रो चरण अन्तर्गत १९० टन क्षमताका दुईवटा रोटर जडान गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

उनका अनुसार सुरुङमार्फत आउने पानीले रोटरलाई घुमाएर विद्युत् उत्पादन हुन्छ। विद्युत्गृहभित्रको काम अन्तिम चरणमा पुगेको र अब विद्युत्गृह सञ्चालनको तयारी अवस्थामा रहेको उनले बताए।

आयोजनाको तीन चरणमा काम भइरहेको छ। भण्डारीका अनुसार पहिलो चरण अन्तर्गत बाँध निर्माण ३६.१५ प्रतिशत र तेस्रो चरण अन्तर्गत प्रसारण लाइन निर्माण ७५ प्रतिशत सम्पन्न भएको छ। प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग र रुखबिरुवा हटाउने कार्यमा ढिलाइ हुँदा तेस्रो चरणको काम भने प्रभावित भएको छ। यद्यपि, आयोजनाले सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले जानकारी दिए।

आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ। प्रसारण लाइन, ग्रामीण विद्युतीकरण र निर्माण अवधिको ब्याजसहित आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ। यसमा एसियाली विकास बैंक (एडिबी) ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर लगानी गर्नेछन्।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *