
गण्डकी। गण्डकी प्रदेशसभाको गत हिउँदे अधिवेशनमा पेस भएका १० वटा विधेयक दफाबार छलफलका लागि विषयगत समितिमा पुगेका छन्। विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनमा सामान्य सैद्धान्तिक छलफलपछि ती विधेयक सम्बन्धित समितिमा पठाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए।
अधिवेशनमा विद्युत् विकास विधेयक, औद्योगिक ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र मगर तथा गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा पेस भएका थिए।
यसैगरी दलित अधिकार तथा सशक्तीकरण विधेयक, अपाङ्गता भएका व्यक्तिको अधिकार विधेयक, खानी तथा खनिज विधेयक, भवन निर्माण तथा बस्ती विकास विधेयक, खाद्य अधिकार तथा खाद्य गुणस्तर विधेयक, जनस्वास्थ्य सेवासम्बन्धी विधेयक र घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकमाथि प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफलपछि दफाबार छलफलका लागि विषयगत समितिमा पठाइएको सूचना अधिकारी सुवेदीले बताए।
“विषयगत समितिमा पठाइएका १० विधेयकमाथि दफाबार छलफलपछि पुनः प्रदेशसभामा छलफल गरी कानुन निर्माणको प्रक्रिया अगाडि बढ्छ,” उनले भने। मंगलबार रातिदेखि अन्त्य भएको हिउँदे अधिवेशनले छ विधेयक र प्रदेशसभा नियमावली पारित गरेको जनाइएको छ।
गत माघ २१ गते सुरु भएको हिउँदे अधिवेशनबाट साझेदारी फर्मको नियमन र व्यवस्थापन विधेयक, सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार विधेयक, प्रदेश निजामती ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थापन विधेयक, कर असुलसम्बन्धी विधेयक र केही गण्डकी प्रदेश ऐन खारेज गर्ने विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।