देश

तीनकुने घटनाका घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेहरूको उपचार खर्च सरकारले बेहोर्ने बताएका छन् ।

बुधवार सिभिल अस्पतालमा घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले गत चैत्र १५ गतेको प्रदर्शनका क्रममा घाइते भएका बिरामीहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएका छन् ।

उनले सरकारले घाइतेको उपचार सरकारले गर्ने निर्णय गरिसकेको र सरकार प्रतिबद्ध रहेको बताए । उनले आफू सबै घाइतेहरूले निःशुल्क उपचार प्राप्त गरेका छन् की छैनन् भनेर नै निरीक्षण र भेटका लागि पुगेको उल्लेख गरे ।

उनले अहिले औषधि बाहिरबाट किनेर ल्याउनुपरेको भए पनि त्यसको बिल अस्पतालमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेपछि सरकारले रक दिने प्रतिबद्धता जनाए ।

गृहमन्त्री लेखकले भने ‘जति पनि घाइतेहरू यहाँ आउनु भयो । उहाँहरूको सरकारले उपचार गर्ने भन्ने निर्णय गरिसकेको छ । सरकारको प्रतिबद्धता छ । सबै घाइतेहरूले निःशुल्क उपचार प्राप्त गरे की गरेनन् भनेर नै म हेर्न आएको हो । अहिले बाहिरबाट औषधि किन्नेकुरा आफूले खर्च गरे पनि त्यो खर्च गरेको बिल अस्पतालकामार्फत स्वास्थ्य मन्त्रलयमा जान्छ । त्यो बिल बराबरको भुक्तानी सरकारले गर्दछ । आफैँले खर्च गरेको भौचर कसैको छ भने पनि अस्पतालमार्फत यो खर्च फलाना बिरामीको यो उपचारमा भएको हो भनेर अस्पतालले प्रमाणित गरेर दियो भने सरकारले दिन्छ ।’

उपचारपछिको भविष्यका लागि के छ सरकारको योजना भन्ने घाइतेका आफन्तको प्रश्नमा गृहमन्त्री लेखकले घाइतेहरूको उपचारपछिको लागि पनि सरकारले विचार गरिरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *