काठमाडौं। बारा र पर्सा जिल्लाको औद्योगिक करिडोर र उपभोक्तालाई भरपर्दो विद्युत् आपूर्ति गर्न तीन उच्च क्षमताका सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ। बाराको अमलेखगञ्ज तथा प्रसौनी र पर्साको वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका सबस्टेसनहरू अन्तिम चरणमा पुगेका हुन्।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी सबस्टेसन र प्रसारण लाइन निर्माणलाई तीव्रता दिन निर्देशन दिएका छन्। वीरगञ्ज क्षेत्रको विद्युत् माग व्यवस्थापन र भारतसँगको विद्युत् व्यापारका लागि यी संरचना महत्त्वपूर्ण रहेको उनले बताए।
अमलेखगञ्ज १३२/६६ केभी सबस्टेसनको निर्माण सम्पन्न भइसकेको छ र आगामी जेठको दोस्रो साता सञ्चालनमा ल्याउने तयारी छ। यसले पथलैया–सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिमा सुधार ल्याउनेछ।
प्रसौनी र वीरगञ्ज सबस्टेसन जोड्ने २.८ किलोमिटर भूमिगत प्रसारण लाइनको काम एक महिनाभित्र सकिने लक्ष्य छ। यी सबस्टेसन सञ्चालनमा आएपछि वीरगञ्ज क्षेत्रमा १३२ र ६६ केभीका दुई स्रोतबाट विद्युत् आपूर्ति हुनेछ, जसले आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउने विश्वास प्राधिकरणले लिएको छ।
बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायत क्षेत्रका उद्योगलाई लक्षित गरी प्रसारण र वितरण लाइनको पूर्वाधार विकास भइरहेको छ। वीरगञ्ज क्षेत्रका उद्योगले १३२ केभी लाइनबाटै विद्युत् आपूर्ति लिन सक्ने गरी संरचना निर्माण भइरहेको छ।
वीरगञ्ज क्षेत्रको बढ्दो औद्योगिक माग पूरा गर्न परवानीपुरबाट पोखरियासम्म १३२ केभी प्रसारण लाइन र पोखरिया सबस्टेसनको निर्माण पनि अघि बढाइएको छ। हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी रमौली हुँदै पोखरियासम्म पुर्याउने योजना रहेको छ।




