
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेकी छन् ।
शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
उनले डिजिटल भुक्तानी गर्दा भ्याटसहित तिर्नुपर्ने भएको कारण डिजिटल भुक्तानी गर्न आम नागरिक निरुत्साहित भइरहेको बताइन् । ‘हाल भएका पेमेन्ट गेटवेजलाई समेत मर्का नपर्नेगरी डिजिटल ट्रान्जेक्सन निशुल्क बनाउन आजैबाट काम शुरु गर्न गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन् ।
सरकारले डिजिटल भुक्तानीमा पनि भ्याट लगाइदिएपछि फोनपे, ईसेवा, खल्ती, कनेक्ट आईपीएस लगायतका डिजिटल भुक्तानी सेवा प्रयोग गरेबापत सेवा शुल्क बढेको छ ।
नेपाल राष्ट्र बैंकले अन्तरबैंक फण्ड ट्रान्सफरमा प्रतिकारोबार अधिकतम १० रूपैयाँसम्म मात्रै शुल्क लिने पाउने व्यवस्था गरेको छ ।