काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अध्यादेशबाट जन्मिएका पार्टीहरुले नै अध्यादेशको विरोध गरिरहेको टिप्पणी गरेका छन् ।
शुक्रवारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा (एकीकृत समाजवादी)लक्षित यस्तो टिप्पणी गरेका हुन् । उनले अध्यादेशबाट पार्टी फुटाएर नयाँ पार्टी बनाउनेहरुले अध्यादेशको विरोध गर्नु अचम्म भएको टिप्पणी गरे ।
‘गजब कुरा त के छ भने जुन पार्टी अध्यादेशबाट बनाइएको थियो । त्यही पार्टी आज अध्यादेश गलत भन्दै छ,’उनले भने,‘अध्यादेशबाट जन्मिएको छ । अध्यादेश ठिक छैन भनिरहेको पनि छ । यो के हुन लागेको हो अचम्म नै भइरहेको छ ।’
उनले अध्यादेश ल्याउने वर्तमान सरकार मात्र नभई विगतमा समेत ल्याउने चलन रहि आएको बताए ।
संसद नचलेको समयमा अध्यादेश जारी गर्नु नियमित प्रक्रिया भएकाले यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको समेत बताए ।
उनले अध्यादेशमा भएका कमजोरिहरुलाई सुधार गर्नुपर्ने भए आवश्यक छलफल गर्न सकिने तर अधयादेश जारी भएकै विषयमा विमति जनाउनुपर्ने कारण नरहेको बताए ।




