राजनीति

सुशासन कायम गर्न अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न सरकारले अध्यादेश ल्याएको बताएका छन् ।

आज मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रममा बोल्दै उनले सुशासन बिना विकास नहुने भएकाले सरकारले अध्यादेशमार्फत १३ वटा कानुन संशोधन गरिएको बताए ।

सरकारका प्रवक्तासमेत रहेका गुरुङले संविधान संशोधन राष्ट्रिय सहमतिमा मात्रै हुने बताए । यद्यपि सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता भने परिवर्तन नहुने उनले उल्लेख गरे ।

उनले राजनीतिक स्थिरता र संविधान रक्षाका लागि कांग्रेस र एमाले मिलेर वर्तमान सरकार बनेको बताए । भन्छन्, “मुलुकलाई आवश्यक पर्दा जहिले पनि कांग्रेस र एमाले मिल्दै आएका छन्, अहिले पनि त्यही आवश्यकताका आधारमा मिलेका छन् । ”

उनले पञ्चायतकालदेखि गणतन्त्र स्थापनासम्ममा दुवै राजनीतिक दल मिलेको स्मरण समेत गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *