काठमाडौं । नेत्रज्योति संघको अन्धोपन निवारण गर्ने अभियानमा पु¥याएको योगदानको आधारमा ‘नारायण शर्मा नेत्रज्योति सम्मान पुरस्कार’बाट नेत्रज्योति संघ खोटाङका सभापति इन्द्र कसजु र ‘नेत्रज्योति सम्मान पुरस्कार’बाट नेपाल नेत्र ज्याेति संघ, आँखा उपचार केन्द्र खोटाङ (दिक्तेल)का नेत्र सहायक हरिहर श्रेष्ठ पुरस्कृत भएका छन्। नेत्रज्योति संघको २९ औं केन्द्रीय अधिवेशनका अवसरमा कसजु र श्रेष्ठ पुरस्कृत भएका हुन्।
शुक्रबार काठमाण्डौस्थित डिल्लीबजारमा भएको नेत्रज्योति संघको २९ औं केन्द्रीय अधिवेशनका अवसरमा उपप्रधानमन्त्री एवंम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले कसजु र श्रेष्ठलाई २५/२५ हजार नगद र सम्मानपत्र प्रदान गरेका हुन् ।
नेत्रज्योति संघको अन्धोपन निवारण गर्ने अभियानमा पु¥याएको योगदानको उच्च मुल्याङकन गर्दै कसजु र श्रेष्ठलाई पुरस्कृत गरिएको नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर चेतराज पन्तले जानकारी दिए ।
उनका अनुसार २०६० बैशाख १० गते दिक्तेलमा स्थापना भएको नेत्रज्योति संघमा कसजु दुई पटक सर्वसम्मत सभापति भएका छन् भने २०६० साल बैशाख १५ गतेदेखि संचालनमा आएको नेपाल नेत्र ज्याेति संघ, आँखा उपचार केन्द्र खोटाङ (दिक्तेल)मा श्रेष्ठ २१ वर्षदेखि कार्यरत छन्।