काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाणित भए सम्बन्धित सदस्यलाई कारबाही गरिने चेतावनी दिएका छन् ।
एमाले बागमती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकलाई शुक्रबार च्यासलमा सम्बोधन गर्दै ओलीले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका हुन् ।
त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा सम्बन्धित व्यक्तिसँग स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी ठहरिए कारबाही गरिने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नजिकिएकाले पार्टीभित्रका अन्तरविरोध आपसी छलफलबाट समाधान गरी एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्दै उनले पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको बताए ।
बैठकमा एमाले सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले आगामी स्थानीय तह निर्वाचनको तयारी तथा मङ्सिर २ र ३ गते काठमाडौंमा आयोजना हुने भेलाको तयारीबारे छलफल हुने जानकारी दिए ।
बैठक आइतबारसम्म सञ्चालन हुने जनाइएको छ ।




