काठमाडौँ । हिउँदयाममा बिजुलीको आन्तरिक माग पुर्याउन भारतबाट थप ३ सय ५० मेगावाट बिजुली आयात गर्न पाइने भएको छ । भारतले १ सय ३२ केभी प्रसारणलाइनबाट समेत बिजुली आयात गर्न अनुमति दिएकाले अब हिउँदमा एक हजार ४ मेगावाट बिजुली आयात गर्न पाइने भएको हो ।
नेपालले ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट ६ सय मेगावाट, टनकपुरबाट ५४ मेगावाट, कटैया–कुशवा, रक्सौल–परवानीपुर र गण्डक–रामनगर प्रसारण लाइनबाट तीन सय मेगावाट र मैनहिया–सम्पतियाबाट ५० मेगावाट गरी कुल एक हजार ४ मेगावाट आयात गर्न पाइनेछ ।
१ सय ३२ केभी कटैया (भारत)–कुशवा (नेपाल), रक्सौल–परवानीपुर, र गण्डक (नेपाल)– रामनगर (भारत) प्रसारण लाइनबाट ४ सय ५० मेगावाट बिजुली आयातका लागि अनुमति मागेको थियो । तर, भारतले ३ सय मेगावाट मात्रै आयात गर्न अनुमति दिएको हो । १ सय ३२ केभी मैनहिया (नेपाल)–सम्पतिया (न्यु नौतनवा, भारत) प्रसारणलाइनबाट १ सय ५० मेगावाट बिजुली आयातका लागि आग्रह गरे पनि भारतले ५० मेगावाटको मात्र अनुमति दिएको हो ।
भारतले आगामी मार्च १५ सम्म २० घण्टा बिजुली आयात गर्न अनुमति दिएको बताइएको छ । भारतले साँझ ५ बजेदेखि राति ९ बजेसम्म बिजुली आयात नदिने र बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म आयात गर्न दिने भएको हो ।




