काठमाडौं । नेपाल बैंक लिमिटेडका तत्कालीन उप–प्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका श्रेष्ठलाई शुक्रबार अपराह्न पक्राउ गरिएको प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव भाटले जानकारी दिए ।
नेपाल बैंकमा कार्यरत रहेको समयमा उनले विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई ३९ करोड ८९ लाख ३१ हनार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा उनी दोषी ठहर भएका थिए । उनलाई दुई छुट्टाछुट्टै मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय तोकिएको छ ।
विशेष अदालत काठमाडौंले २०६८ भदौ ६ गते श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद आचार्यसमेतका व्यक्तिहरुलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो । सोही फैसला २०७३ असोज २५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलाशबाट सदर भएको थियो । तर, श्रेष्ठ त्यसयता फरार थिए ।
शनिबार र आइतबार सार्वजनिक बिदा परेकोले उनलाई सोमबार अदालतमा पेस गरिने डीएसपी भाटले बताए । अदालतमा पेश गरेपछि उनी फैसला कार्यान्वयनको लागि कारागार बस्नुपर्नेछ । उक्त मुद्दामा दोषी ठहर भएका अन्य व्यक्तिको पनि फैसला कार्यान्वयन बाँकी रहेको छ ।




